माओवादी केन्द्रको पदाधिकारी टिम तयार, कुन पदमा को ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलीदेखि काठमाडौँ सुरु हुँदैछ । सम्मेलनले माओवादीलाई क्रान्तिकारी विचार सहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने दाबी गरिएको छ ।

माओवादीले नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वका लागि पार्टीको महासचिव बाहेक अरु पदमा कुरा मिलिसकको नेताहरुले बताएका छन् ।

नेतृत्वमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दोहोरिने लगभग पक्का भएको छ भने उपाध्यक्ष, उपमहासचिव, सचिवमा कुरा मिलिसकेको छ ।

स्थायी कमिटी सदस्य देवप्रसाद गुरूङ संयोजकत्वको कमिटीले १५ जना पदाधिकारी रहने गरी बहुपदीय प्रणालीको प्रस्ताव गरेको छ । माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन लागेको छ । अहिले केन्द्रीय कमिटीको संख्या १७९ छ ।

राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीमा १२० जना थपिनेछन् । केन्द्रीय कमिटीको कूल संख्यामध्ये १२४ केन्द्रीय सदस्य खुल्ला प्रतिस्पर्धाबाट चयन हुने र बाँकी आरक्षण कोटाबाट ल्याउने प्रस्ताव गरिएको छ । आरक्षण कोटाको निर्धारण टुंगो लागी नसकेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रभित्र अहिल्यै नेताहरूले प्रचण्डको विकल्पबारे चर्चा गर्ने गरेका छैनन् । नेतृत्वमा प्रचण्डलाई चुनौती दिने गरी अरू कुनै पनि नेताले दाबी गरेका पनि छैनन् ।

तसर्थ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रचण्ड फेरि दोहोरिने स्वतसिद्ध छ । करीब ३ दशकयता अविच्छिन्न रूपमा नेतृत्वमा रहेका प्रचण्डले राष्ट्रिय सम्मेलनमार्फत आफ्नो अनुमोदन गराउँदै छन् ।

कार्यकारी भूमिकाको हिसाबले अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा धेरैजसो नेताहरू माथापच्ची गरिरहेका छन् । माओवादी केन्द्रमा अहिले बन्ने महासचिव नै प्रचण्डको उत्तराधिकारीको रूपमा पनि हेरिएको छ ।

त्यसकारण प्रचण्डको उत्तराधिकारी बन्ने होड कसले जित्ने भन्ने दौड माओवादी केन्द्रमा देखिएको छ । माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल महासचिव बन्ने होडमा छन् । उनीहरू तीनै जनालाई माओवादी केन्द्रको भाबी नेतृत्वको रूपमा पनि अर्थ्याउने गरिएको छ ।

माओवादी केन्द्र स्रोतका अनुसार अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा महासचिवका लागि सबैभन्दा बढी मेहनत गरेर लागेका छन् ।

माओवादीले सशस्त्र युद्ध गरिरहेका बेला ‘प्रभाकर’ नामले चिनिने शर्मा बटालियन कमाण्डर थिए । उनीसँगैका नेता नन्दबहादुर पुन उपराष्ट्रपतिको भूमिकामा छन् ।

माओवादी केन्द्रले केही समयअघि गरेको कार्यविभाजनमा जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यसबेला नै शर्मालाई पार्टीको महासचिवको जिम्मेवारी दिन लागिएको चर्चा भएको थियो ।

निरन्तर रूपमा अध्यक्ष प्रचण्डको सानिध्यमा रहेर काम गरेका नेता वर्षमान पुनले पनि पार्टीमा महासचिवको जिम्मेवारी दाबी गरेका छन् । चीनमा स्वास्थ्य उपचार गराइरहेका वर्षमान पुनलाई पार्टीमा अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुनकै लागि पुन आउन लागेको बताइएको छ ।

२०५२ सालमा माओवादीले शसस्त्र युद्ध शुरू गर्नुअघि नै केन्द्रीय कमिटीमा पुग्ने महिला नेत्री हुन् पम्फा भुसाल । सशस्त्र युद्धका बेला ‘विद्युत्’ नामले चिनिने भुसाल अहिले सरकारमा ऊर्जा मन्त्री छिन् । उनले पनि पार्टीमा कार्यकारी भूमिकामा रहेर काम गर्ने चाहना राखेकी छन् ।

महासचिवका लागि जनार्दशन शर्मा र वर्षमान पुनको लडाइँ हुँदा अध्यक्ष प्रचण्डले भुसाललाई महासचिवको रूपमा अघि सार्नसक्ने सम्भावना रहेको खुमलटार स्रोत बताउँछ ।

माओवादी केन्द्रमा यसअघि रामबहादुर थापा ‘बादल’को खेमामा रहेकी भुसाल थापाले माओवादी केन्द्र छाडेर एमालेमा जाँदा उनलाई साथ दिइनन् । माओवादी केन्द्रमै रहेका कारण उनले ऊर्जामन्त्री हुने अवसर पनि पाइन् ।

आगामी सम्मेलनमा शर्मा र पुनले महासचिवको लागि जोडबल गर्ने र चुनाव नै माग गर्ने अवस्था आउँदा प्रचण्डले भुसाललाई अगाडि बढाउने तयारी गरेको बुझिएको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

तर प्रज्ञा भवनको हलबाट कसले माओवादी केन्द्रको महासचिवको ‘ब्याच’ लगाएर निस्कन्छ भन्ने निष्कर्षमा पुग्न केही दिन पर्खनुपर्ने भएको छ ।

त्यसबाहेक अहिले पार्टीमा अध्यक्ष प्रचण्डपछि दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठदेखि कृष्णबहादुर महरा र देव गुरूङसम्मका नेतालाई उपाध्यक्षको जिम्मेवारी दिने सम्भावना रहेको माओवादी केन्द्रभित्र चर्चा छ ।

माओवादी केन्द्रमा महासचिव बाहेकको पद व्यवस्थापन गर्न त्यति कठिन देखिएको छैन ।

उपाध्यक्ष र महासचिवपछि हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मात्रिका यादव, देवेन्द्र पौडेल, शक्ति बस्नेत लगायतका नेताहरू उपमहासचिव र चक्रपाणि खनाल, लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, महेन्द्रबहादुर शाही मध्येबाट केहीलाई सचिवको जिम्मेवारीमा ल्याउने सम्भावना रहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 328
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    328
    Shares

प्रतिक्रिया दिनुहोस !