बन्दसत्रमा प्रचण्डले पेश गरेको प्रतिवेदनमा के छ ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको जारी महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।

आइतबार प्रस्तुत प्रतिवेदनमा उनले संविधान खारेज गर्ने नियतले संसद् विघटन गरिएको बताएका छन्। ‘केपी ओलीको चरम व्यक्तिवादी र अहंकार, सहमतिका विपरीत निरंकुश ढंगले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको मार्क्सवाद विरोधी सामन्ती दलाल पुँजीवाद र वैदेशिक शक्तिका सामू आत्मसमर्पण गर्ने चरित्रका कारण पार्टीभित्र चरम गुटबन्दी र अस्वस्थ अन्तरसंघर्षको विकास भयो।

यो अन्तरसंघर्षको प्रक्रिया आफ्नो पराजय निश्चित देखिएपछि ओली गुटले संविधान नै खारेज गर्ने नियतका साथ संसद् विघटन गर्न पुग्यो। अस्वस्थ अन्तरसंघर्ष शत्रुतापूर्ण अन्तरसंघर्षमा बदलियो,’ प्रतिवेदनमा उनले भनेका छन्।

विषम परिस्थितिमा पनि पार्टीले एकताको रक्षा गर्ने र ओलीका गलत विचार, प्रवृति र कार्यशैली सच्याउन अन्तिम समयसम्म पनि पार्टीले प्रयास गरेको उनको भनाइ छ। ‘तर ओली गुट झन् पछि झन् अनुशासनको खिल्ली उडाउँदै प्रतिगमतको यात्रामा अगाडि बढ्यो।

केन्द्रीय समितिको दुईतिहाइभन्दा बढीको बहुमतले उनलाई पार्टी सदस्यबाट निस्कासित गर्‍यो। संसदीय दलको बहुमतले उनलाई दलको नेताबाट पनि निष्कासित गर्‍यो।

आधिकारिक र वैधानिक रुपले गरिएको उपरोक्त निर्णयलाई तत्कालीन निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन र नजिरविपरीत र अन्त्यमा सर्वोच्च अदालतको अस्वाभाविक राजनीतिक फैसलाका कारण पार्टी एकता असफल बनाइयो। पार्टी एकतालाई असफल तुल्याइयो,’ प्रतिवेदनमा भनिएको छ।

आज पनि ओली प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै बृहत् कम्युनिस्ट एकता कायम नै रहेको उनको भनाइ छ। आफ्नो पार्टी अहिले पनि एकताको पक्षमा रहेको र रहिरहने भनिएको छ।

‘विभिन्न माओवादी समूह, माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीसँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ,’ प्रतिवेदनमा भनिएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

प्रतिक्रिया दिनुहोस !