म जे छु, यो सबै दर्शक श्रोताको माया हो : देवी घर्तीमगर

काठमाडौं । देवी घर्तीमगर नेपाली लोक दोहोरी क्षेत्रमै एक निकै चर्चित र सफल गायिकाको रुपमा परिचित नाम हो । उहाँले गाएका सबै गीत उत्तिकै चर्चामा छन् । आफ्नो सुमधुर आवाजले दर्शक श्रोताको मन जित्न सफल गायिका घर्तीलाई सदाबहार लोकप्रिय गायिकाको रुपमा पनि लिने गरिन्छ ।

गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको रोमुवा गाउँमा एक मध्यवर्गीय परिवारमा जन्मिनुभएकी घर्ती सानैदेखि गीत गुनगुुनाउने गर्ने सुनाउनुहुन्छ ।

घर्ती भन्नुहुन्छ ‘म सानो छँदा रेडियोमा राष्ट्रिय स्तरका गायक गायिकाको गीत सुन्दा निकै रमाएर संगै मिसाउथे, ठुलो भएपछि म पनि यस्तै कलाकार बन्छु भन्ने सोच्थे ।’

२०६१ सालमा मात्रै गीत गाउने रहर बोकेरै माइलो दाजुसंग काठमाडौं छिर्नुभएकी घर्तीकापनि संगीत क्षेत्रमा धेरै दुखद र संघर्षका पल छन् ती सबै दुख र संघर्षलाई जितेर ‘देवी घर्तीमगर’ यो नाम एक चर्चीत गायिकाको रुपमा स्थापीत भएको हो ।

घर्तीले काठमाडौंमा विभिन्न दोहोरी साँझमा गाउने काम गरेर केहि वर्ष बिताउनुभयो । यहाँ आएको करिव दुई वर्षपछि राजु ढकाल र घर्तीको भेट भयो ।

एउटै रहर र सपना बोकेका घर्ती र ढकालको गीत गाउने क्रममा नियमित जसो भेटघाट हुने क्रम चलिरह्यो यो बिचमा उहाँहरुबिचमा मनपनि साटियो । प्रेमसम्बन्धको ३ वर्षपछि २०६५ साल मंसिर २६गते उहाँहरु विवाह बन्धनमा बाँधिनुभयो ।

लोकदोहोरी क्षेत्रमा नमुना युगल जोडीमध्येको देवी घर्ती र राजु ढकालको जोडीपनि एक हो । उहाँहरुको दश वर्षको एक छोरापनि छन् ।

घर्तीसंग आज हामीले केहि कुराकानी गरेका छौ, प्रस्तुत छ उहाँसँग गरिएको संक्षिप्त कुराकानीस्

१. के मा व्यस्त हुनुहन्छ ?

गीत रेकर्डिङ त कहिले सुटिङ, हाम्रो नयाँ गीत ‘सीतको पानी’को काम अन्तिम चरणमा छ त्यसैको तयारीमा छु । यहि हप्ताभित्र बजारमा आउछ ।

तपाईको त आफ्नै व्यवसायपनि छ कसरी समय मिलाउनुहुन्छ ?

हो हाम्रो सामाखुशीमा रेष्टुरेन्टपनि छ । गीत बाहेक अरु बाँकी समय यहिमा हुन्छु म, समय आफुले मिलाए मिल्ने रहेछ ।

२. दिनमा कतिवटा सम्म गीत रेकर्ड गर्नुहुन्छ
अहिले यो कोरोना महामारीको समयमा त एक दुईवटा गरिन्छ । पहिला त दिनमा सात, आठओटापनि गरिन्थ्यो । महिनामा ७५ ओटापनि गाएको छु ।

३. संख्यात्मक हिसावले अहिलेसम्म कति गीतमा स्वर भर्नुभयो ?

ठ्याक्कै हिसाव त राखेको छैन तर १० हजारको हाराहारीमा भयो होला ।

४. कोरोनाको महामाहरी नभएको भए यतिबेला कहाँ हुन्थे जस्तो लाग्छ ?

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले हामी सबैलाई दुख दियो र दिइरहेको छ । यदि यस्तो महामारी हुँदैन थियो भने यो समयमा बिभिन्न कार्यक्रममा व्यस्त भइन्थ्यो शायद ।

५. ती कार्यक्रमहरु कत्तीको मिस गर्नु भएको छ ?
मिस त धेरै गरेको छु, कार्यक्रम यसरी बन्दा हुँदा म लगायत हामी सबै कलाकारलाई समस्या त छ तर कहिलेकाहि कार्यक्रममा हिड्न नपाएर थपक्क घरमा बस्न पाउँदापनि आनन्द महसुस हुँदोरहेछ । सधै व्यस्त भैरहने छोरो र घरमा समय दिन गाह्रो थियो यो कारणलेपनि घरमा पुरा समय दिन पाइएको छ भन्ने कुरालेपनि खुशी लाग्छ । कार्यक्रम, गीत गाउँने त मेरो पेशानै हो धेरै याद आउँछ ।

६. दुवैजना श्रीमान श्रीमती एउटै क्षेत्रमा हुनुहुन्छ, दुवैजना लोकप्रिय कस्तो लाग्छ ?
धेरै खुशी लाग्छ । भाग्यमानी ठान्छु यो सबै हाम्रा भगवानरुपी दर्शक श्रोताको माया हो उहाँहरुप्रति सधै आभारी छु ।

७. दुवैजना एउटै क्षेत्रमा हुँदा गाह्रो, सजिलो कस्तो हुने रहेछ ?
मलाई त एकदमै सजिलो भएको छ । एउटै पेशा अथवा क्षेत्र हुँदा बुझ्ने र विश्वासपनि अझैं बढि हुने महसुसपनि भएको छ । हरेक कुरामा सहयोग र साथ हुन्छ त्यसैलेपनि धेरै सहज भएको छ ।

८. पछिल्लोपटक बेस्सरी कहिले रुनु भयो ?
मैले भर्खरैमात्रै टिकटक भिडियो हेरेर बेस्सरी रोएको छु । विवाहमा छोरीलाई बिदाई गर्दा बाबाछोरी रोएको भिडियो हेरेर बेस्सरी रोएको छु । हाहाहा…

९. एकदम खुशीको पल के छ ?
म त सधैं खुशी हुन्छु, मलाई खुशी हुन ठुलो कारण चाँहिदैन । जिन्दगीमा ससाना कुरामा रमाउन र खुशी हुन सिक्न पर्छ ।

१०. यो क्षेत्रमा सफलपनि हुनुहुन्छ आर्थिक हिसावले कत्तिको बलियो पाउनुहुन्छ आफुलाई ?

यो त आफ्नो कलामा भर पर्ने कुरा हो । म आर्थिक हिसावमा धेरै सम्पन्न नभएपनि खास बस्न र लगाउन मलाई पुगेको छ । म एकदम सन्तुष्ट छु ।

११. अन्तिममा केही भन्न चाहनुहुन्छ ?

म आज जे छु यो सबै दर्शक श्रोताको माया हो । दर्शक श्रोता मेरा भगवान हुनुहुन्छ । हजुरहरुले दिएको माया र आशिर्वाद सधैं पाइराखु । मेरा भगवानरुपी दर्शक श्रोताप्रति सधै आभारी छु, तपाइहरुलाई सधै म मिठा र राम्रँ गीत पस्कने प्रयारसरत छु र रहिरहने छु । धन्यवाद ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !