रंगशालाका कारण ‘धुर्मुस’ समाजका ‘अपराधि’, की जनताको ‘भेडा’ प्रवृत्ति !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चिरञ्जीवी पौडेल, काठमाडौं । केही समयदेखि हास्यकलाकार धुर्मुसको अनुहारबाट हाँसो हराएको छ । हास्यरसको कलाकारिताले ख्याति कमाएका उनी वास्तविक जीवनमा ‘करुणरस’ मा पिल्सिएका छन् । उनको दिल–दिमागमा एउटै विषय पिलो जसरी टन्टनाइरहेको छ– रंगशाला ।

जनस्तरबाट सहयोग जुटाएर नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न तम्सिने ‘दुस्साहसपूर्ण अपराध’ गरेवापत् चितवनकै एक ‘क्रिकेटप्रेमी’ ले धुर्मुसविरुद्ध अख्तियारमा उजुरी हालेको समाचार अस्ति बाहिरियो । उजुरीपछि सामाजिक सञ्जालमा देखिएका धेरै प्रतिक्रिया हेर्दा यस्तो लाग्छ, मानौं धुर्मुस देशकै ठूला अपराधि हुन् र उनलाई जेल कोच्न ढिलाइ भइसकेको छ ।

त्यसो त पहिल्यैबाट प्रहार हुँदै आएका तिखा लाञ्छनाका बाणहरुले ‘अपराधि धुर्मुस’ थिलोथिलो भइसकेका थिए । जेलै जानु पर्यो भने पनि उनलाई योभन्दा बेसी मानसिक पीडा सायदै होला ।

अब एकछिन सबैले ठण्डा दिमागले विवेचना गरौं, के रंगशाला निर्माणको पहलकदमी लिनु धर्मुसको अपराधकर्म नै हो त ? सबैले आफू धुर्मुसको स्थानमा उभिएर सोचौं न, के बिग्रिन्छ ?

०००

धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा चितवनको भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको काम रकम अभावका कारण अवरुद्ध बनेको चार महिनाभन्दा बढी भयो । ठूलो उत्साहका साथ सुरु गरेको महत्वाकांक्षी परियोजनालाई टुंगोमा पुर्याउन नसक्दाको पीडा धुर्मुसलाई भन्दा बढी कसलाई होला ?

आपूर्तिकर्ताहरुलाई सामानको उधारोवापत तिर्नुपर्ने १७ करोड रुपैयाँको बोझले उनी निस्सासिने गरी थिचिएका छन् । हरेक बिहान पैसाको ताकेताका लागि बज्ने फोनका घन्टीले ब्युँझदाको सकस उनलाई मात्र थाहा छ । त्यसमाथि, सामाजिक सञ्जालमा आउने अवगालहरुले सुइरो झैं घोप्छन् । राति निदाउन पनि ‘मेडिटेसन’ गर्नुपर्ने अवस्थामा छन् उनी ।

एउटा कलाकार आफ्नो गरीखाने पेशालाई थाँति राखेर देश निर्माणको अभियानमा होमिन्छ । आफ्नो निजी जीवनलाई पन्छाएर सम्पूर्ण समय र श्रम देशका लागि खर्चिन्छ । तर, बदलामा स्यावासी होइन, दुत्कार र लाञ्छना भोग्न वाध्य हुन्छ भने त्योभन्दा ठूलो प्रताडना के होला ?

मानिसहरुका अगाडि सकभर पीडा लुकाउन खोज्छन् धुर्मुस । गहमा भरिएको आँशु जसरी पनि रोक्नुपर्ने चुनौति छ उनलाई । यदि खसिहाल्यो भने ‘ड्रामा गरेको’, ‘आँशु बेच्न खोजेको’, ‘नौटंकीवाज’ जस्ता आरोपको वर्षा हुने निश्चित छ ।

यस पंतिकारले केही साताअघि भेट्दा अनौपचारिक कुराकानीमा रंगशालाको विषयले आफ्नो निजी जीवनलाई कसरी तहसनहस बनाइरहेको छ भन्ने बेदना पोखेका थिए । आफू मात्र नभएर सिंगै परिवार (८ वर्षकी छोरीसमेत) लाई मानसिक असर पर्न थालेको सुनाइरहँदा उनले निकै मुस्किलले आफ्ना आँशु रोकेका थिए । एक मात्र सन्तानको रुपमा रहेकी छोरीमा जन्मजात देखिएको शारीरिक समस्या अहिले धुर्मुसका लागि गौण भएको छ । उनले नलेख्न आग्रह गरेका थिए, मैले यतिचाहिँ लेखिदिएँ ।

तीन वर्षअघि देशका प्रधानमन्त्रीसहित शीर्षनेताहरुलाई साक्षी राखेर रंगशाला निर्माणको घोषणा गरिरहँदा धुर्मुसले आजको निसहाय अवस्थाको सायदै परिकल्पना गरेका थिए । जनताकै हौसला र प्रेरणाले धुर्मुस कलाकारिताबाट समाजसेवातर्फ मोडिएका हुन् । कुनै बेला सिंगो देश धुर्मुसको पछाडि थियो । आज उनको पक्षमा बोलिदिनेको पनि खडेरी छ । धुर्मुस सबैबाट एक्लिएका छन् । आखिर किन आयो यो परिस्थिति ?

धेरैले धुर्मुसमाथि अहिले लगाउने गरेको आरोप हो, अरुको पैसामा समाजसेवी बन्न खोजेको । हो, धुर्मुसले आफ्नो पैसाले नभएर जनतासँग सहयोग संकलन गरेर सामाजिक कामहरु गर्दै आए । र, उनले आफूलाई ‘समाजसेवी’ भनेर चिनाएका पनि छैनन् । भूकम्पपछिको राहत र पुनर्निमाणमा खटिने क्रममा उनले एकीकृत वस्ति निर्माणको काम अघि बढाए । त्यसबेला उनलाई चौतर्फी सहयोग प्राप्त भयो । तत्पश्चात यही मोडलबाट उनले अरु चारवटा एकीकृत वस्ति बसाए । यदि जनतासँग सहयोग लिएर सामाजिक काम गर्नु गलत थियो भने बेलैमा उनलाई यो ‘चेतना’ कसैले दिएन ? त्यसबेला किन देवत्वकरण गरियो ?

जनताबाट उठाएको एक–एक पैसाको पूर्ण सदुपयोग हुने विश्वास धुर्मुसले आर्जन गरेका थिए । तब न मानिसहरुले उनलाई आँखा चिम्लेर पैसा पठाए । कतिले आफ्नो गाँस काटेर पनि उनलाई पैसा दिएका छन् । सदुपयोग हुन्छ भन्ने विश्वासले हो । उनले जबरजस्ती गरेर, धम्क्याएर पैसा उठाएका हुन् र ? धन र मन भएका तर, लाभग्राहीसम्म आफैं पुग्न नसक्नेहरुको लागि विश्वसनीय माध्यम बनिदिनु पनि आफैंमा एउटा परोपकारी काम नै होइन र ? यसमा आफ्नो पैसा नलागे पनि समय र श्रम त लागेकै हुन्छ ।

हो, अहिले अरुसँग पैसा मागेर परोपकार गर्ने कथित सामाजिक अभियन्ताहरु टोलटोलमा उम्रेका छन् । उनीहरुमध्ये कतिले राम्रो काम गरेका छन् त कति बदनाम पनि भएका छन् । कुनै आर्थिक पारदर्शीताबिना हातमा पैसाको बिटो बोकेर सडकमा बाँड्दै हिँड्ने सामाजिक अभियन्ताको म पनि विरोधि हुँ ।

तर, धुर्मुस त्यो कोटीमा पर्दैनन् । उनले व्यक्तिगतस्तरमा नभएर फाउन्डेसन खोलेर संस्थागतरुपमा काम गरिरहेका छन् । जे–जति काम गरेका छन्, त्यसको हिसाबकिताब दुरुस्त र पारदर्शी छ । अहिलेसम्म सम्पन्न गरेका कुनै पनि परियोजनामा एक पैसा हिनामिनाको आरोप उनीमाथि लागेको छैन ।

०००

रंगशालाको हकमा कुरा गर्दा, म पनि स्वीकार्छु, यस्ता ठूला विकास पूर्वाधारहरुको निर्माण गर्नुपर्ने दायित्व सरकारकै हो । तर, अर्को तरिकाले पनि सोचौं । सरकारले खर्च गर्ने पनि जनताकै पैसा हो । सरकारले जनताबाट राजश्वका रुपमा वर्षेनी उठाउने खरबौं रकम विकासमा खर्च गर्ने मान्यता राखिन्छ ।

तर, नेपालमा चाहिँ राजश्वबाट उठेको पैसा कर्मचारीको तलबभत्तामै सकिन्छ । अनि विकास–निर्माणका लागि विदेशीसामू हात पसारिन्छ । यदि जनताकै पैसाबाट देशमा एउटा गर्विलो संरचना बन्छ, भने त्यसमा गलत के छ ?

यही मोडलबाट देश विकास हुन्छ भनिएको होइन । तर, सरकारलाई झक्झक्याउनका लागि, जनताको आत्मविश्वास बढाउनका लागि यो नमूना परियोजना औचित्यपूर्ण थियो । देशभित्रकै जनशक्तिबाट छोटो समयमै ठूलो पूर्वाधार निर्माण हुन सक्छ भन्ने मानक यसले कायम गर्ने थियो, जुन सरकारका लागि समेत मार्गदर्शक हुन सक्थ्यो ।

अनि, देशमा एउटा अन्तर्राष्ट्रियस्तरको खेल रंगशाला अत्यावश्यक पनि त छ । सरकारले बनाउला भनेर यतिञ्जेल प्रतीक्षा गरिएकै हो । दशकौंदेखि मुलपानीको रंगशाला अलपत्र रह्यो । अझै कहिलेसम्म अलपत्र रहने हो टुंगो छैन । यदि आर्थिक व्यवस्थापन भएको भए धुर्मुसले घोषित समयमै सम्पन्न गर्न सक्थे । यसले समग्र खेलक्षेत्र लाभान्वित हुन सक्थ्यो । खेलाडीहरुलाई राहत मिल्थ्यो ।

जनतालाई छाक टार्न गाह्रो छ, किन चाहियो रंगशाला ? भन्नेजस्ता टिप्पणीहरु पनि सुनिन्छन् । यो भनेको सोचाइको लघुताभाष मात्र हो । गरिबी निवारण अवश्य पनि राज्यको प्राथमिकतामा पर्नुपर्छ । तर, त्यसबाहेकका अरु कुरालाई बेवास्ता गर्न मिल्दैन । जनताको जीवनस्तर उठाउने प्रयत्न आफ्नो ठाउँमा जारी राख्दा देशको आधुनिकीकरण एवं विकास–निर्माणका कामहरुलाई पनि रफ्तारमा लैजानैपर्छ । संसारमा सबैभन्दा धेरै भिखारी भारतमा छन् । त्यही भारतमा दर्जनौं अन्तर्राष्ट्रियस्तरका क्रिकेट रंगशाला छन् ।

केही महिनाअघि युनाइटेड अरब इमरेट्स (युएई) ले ट्वान्टी–२० क्रिकेट विश्वकपको सफल आयोजना गर्‍याे । क्रिकेटमा यूएई नेपालभन्दा पछाडि छ । तर, त्यहाँ अन्तर्राष्ट्रियस्तरका भव्य क्रिकेट रंगशालाहरु छन् । तटस्थ मैदानका रुपमा अन्य देशका क्रिकेट म्याचहरु पनि त्यहाँ हुने गर्छन् । यसले युएइको पर्यटन विकासमा मद्दत गरेको छ । नेपालमा पनि त्यस्तो सम्भावना प्रचुर छ । तर, हामीसँग संरचना छैनन् । त्रिवि क्रिकेट मैदानबाहेक क्रिकेट खेल्ने गतिलो ठाउँ छैन । यो रंगशालाले आशाको झिल्को बालेको थियो, जुन निभ्न आँटेको छ ।

एउटा कुरा सत्य हो । ३ अर्ब रुपैयाँको परियोजना जनताबाटै पैसा उठाएर सम्पन्न गर्न निकै चुनौतिपूर्ण थियो । यसमा धुर्मुसले जोखिम लिएकै हुन् । महत्वाकांक्षी भएकै हुन् । तर, धुर्मुसमा यस्तो महत्वाकांक्षा कसले जगायो ? तपाईं–हामीले नै होइन ? एकपटक पछाडि फर्केर हेरौं ।

०००

पाँचवटा वस्ति निर्माणमा प्राप्त सफलतापछि धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमूना नेपाल’ नामक एउटा मौलिक परियोजना अघि बढाएको थियो । त्यसैबेला नेपालले एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पायो । अनि, देशमा तत्काल एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको आवश्यकता महसुस गरियो । क्रिकेट खेलाडी स्वदेश फर्किँदा समर्थकहरुले एयरपोर्टमै नारा लगाए– रंगशाला चाहियो–चाहियो । एकदिवसीय क्रिकेट खेल्ने राष्ट्रमा एउटा गतिलो रंगशाला नहुनु लाजमर्दो कुरा पनि त हो ।

सरकारबाट कुनै आशा नराखेका क्रिकेट समर्थकहरुले धुर्मुसको मुख ताके । खासै औचित्यपूर्ण नदेखिएको ‘नमूना नेपाल’ को साटो क्रिकेट रंगशाला निर्माण गर्दा देशका लागि हितकारी हुने भन्दै उनीमाथि तीव्र दवाव पर्न थाल्यो । डेलिगेसनमाथि डेलिगेसन धुर्मुसकहाँ पुगे ।

दवावपछि धुर्मुसले सामाजिक सञ्जालमै प्रश्न गरे, ‘नमूना नेपाल कि क्रिकेट रंगशाला ?’ त्यसमा आएका सात हजारभन्दा बढी प्रतिक्रियामा झण्डै सतप्रतिशत क्रिकेट रंगशालाको पक्षमा थिए । त्यो मात्रै होइन, कमेन्ट बक्समा नै करोडौं करोड सहयोगका प्रतिवद्धताहरु व्यक्त गरिए । अन्ततः धुर्मुस नमूना नेपाल छाडेर रंगशालातर्फ मोडिए । रंगशाला बनाउने घोषणा सामाजिक सञ्जालबाट गर्दा उनलाई प्राप्त चौतर्फी शुभकामना अनि जयजयकार अहिले एकादेशको कथा जस्तो भएको छ ।

रंगशाला कहाँ बनाउने भन्ने सवालमा पनि देशभरका स्थानीय तह र प्रदेश सरकारको तानातानमा परेका थिए धुर्मुस । ‘हाम्रो ठाउँमा बनाइदिनुपर्यो’ भन्दै उनीसँग बिन्तिभाउ गर्नेमा स्थानीय तहका प्रमुखदेखि मुख्यमन्त्रीसम्म थिए । धेरै ठाउँ साइट भिजिट गरेपछि धुर्मुसले चितवनलाई सदर गरेका हुन् । तर, त्यहाँ जग्गा प्राप्तिको प्रक्रियामा अनावश्यक ढिलाइ भइदियो । यही ढिलाइलार्ई नै देशको माहोल र जनताको मनोदशामा आएको परिवर्तनको प्रमुख कारकतत्व मान्न सकिन्छ ।

जग्गा प्राप्तिपछि रंगशाला निर्माणमा होमिने बेलासम्म आइपुग्दा पहिलेको उत्साह आधा सेलाइसकेको थियो । यसर्थ सुरुबाटै सोचेको गतिमा आर्थिक संकलन हुन सकेन । त्यसपछि कोभिडको महामारीले लक्ष्यित पैसा उठ्ने सम्भावनाको अन्त्य गरिदियो । आर्थिक संकलनकै लागि भरतपुर महानगरको समन्वयमा महायज्ञ आयोजना गरियो । तर, त्यसमा प्रतिवद्धता भएको रकम आधा पनि उठेन । महायज्ञमा ६९ करोडको कबोल भएकामध्ये प्रदेश ३ सरकारले ३० करोड दिने भनेको थियो । तर, ३ करोड मात्रै दियो । कोरोनाको कारण देखाएर व्यक्तिगत दाताहरुले पनि दिएनन् । अहिलेका मन्त्री उमेश श्रेष्ठले ११ लाख ५१ हजार रुपैयाँ दिने भनेका थिए, तर एक पैसा दिएका छैनन् ।

यो बीचमा रंगशालाको विषयलाई तीव्र राजनीतिकरणसमेत गरियो । तत्कालीन नेकपा विभाजनको बाछिटा रंगशालामा पर्‍याे । माओवादी नेतृत्वको भरतपुर महानगरले रंगशालालाई आफ्नो उपलब्धीका रुपमा प्रचार गर्ने देखेर एमालेको केन्द्रीय सरकारले असहयोग गरेकै हो । रंगशाला निर्माणको घोषणा हुँदा केपी ओली प्रधानमन्त्री थिए । घोषणा कार्यक्रममा उनी स्वयम् उपस्थित भएर धुर्मुसकाे गाथा गाएका थिए । तर, उनै ओली पछि धुर्मुसलाई ‘दर्शनभेट’ दिनसम्म तयार भएनन् । बारम्बार प्रयास गर्दा पनि धुर्मुसले ओलीलाई भेट्न पाएनन् ।

ओली प्रधानमन्त्रीको कुर्सीबाट ओर्लिएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । माओवादी सत्ता साझेदार दलका रुपमा छ । अर्थमन्त्रालय माओवादीसँगै छ । तर पनि रंगशालाको भवितव्य फेरिन सकेको छैन । भरतपुर महानगरकी प्रमुख रेणु दाहाल रंगशाला निर्माणलाई अघि बढाएर यसको जस लिन चाहन्छिन् । तर, उनको कार्यकाल धेरै छैन । महानगरको मात्रै बजेटले यो निर्माण हुन पनि सक्दैन । अब स्थानीय चुनावबाट भरतपुरको नेतृत्वमा आउनेले रंगशालालाई प्राथमिकतामा नराख्न सक्छ । यदि राख्यो भने पनि केन्द्रको मुख ताक्नैपर्छ । केन्द्र र महानगरबीच समन्वय भएन भने रंगशाला अघि बढ्न सक्दैन ।

धर्मुस-सुन्तली फाउन्डेसनले हात झिक्नुको अर्थ यो रंगशाला अर्को मुलपानी बन्ने निश्चित भएको छ । सरकारको मातहतमा आउनासाथै यसको निर्माणमा अनेक झमेला उत्पन्न हुनेछन् । सरकारी तौरतरिकाबाट काम गर्दा प्रक्रियागत कारणले ढिलासुस्ती हुन्छ नै । ठेकेदारको कमिसन लगायत कारणले लागत ह्वात्तै बढ्नेछ । निर्माणको गुणस्तरमा पनि ढुक्क रहन सकिँदैन किनकी ठेकेदारले सस्तो सामान्य प्रयोग गरेर बढी मुनाफा खान खोज्छ नै ।

अझै पनि अवसर छ । सरकारले स्रोत जुटाएर धुर्मुस-सुन्तली फाउन्डेसनकै संयोजनमा कामलाई निरन्तरता दिने । हो, सरकारबाट यति ठूलो रकमको विनियोजनामा प्राविधिक समस्याहरु हुन सक्छन् । तर, कुनै उपाय ननिस्किने भन्ने हुँदैन । एकै निकायबाट सबै रकम निकासा हुन सक्दैन, तर हामीसँग केद्रदेनि गाविससम्म सरकारै सरकार छन् । सबैले थोरैथोरै रकम सहयोग गरे भने २-३ अर्ब ठूलो पैसा होइन । आर्थिक सुनिश्चितता भए अहिले पनि धुर्मुस तयारै छन् ।

०००

हो, प्रश्नको घेराबाट बाहिर कोही पनि छैन । धुर्मुसलाई प्रश्न सोध्ने अधिकार सबैलाई छ । तर, ती प्रश्न अनर्गल हुनुहुँदैन । आरोपहरु अवाञ्छित हुन हुँदैन ।

यदि संरचनाको डिजाइनमा खोट भेटिएको भए, काममा ढिलासुस्ती गरेको भए, निर्माणको गुणस्तरमा लापरवाही पाइएको भए, उठेको पैसा हिनामिना भएको भए, धुर्मुसमाथि जति पनि गाली वर्षाउन सकिन्थ्यो । स्रोत नजुटेकाले निर्माण अगाडि बढ्न सकेन । यसमा उनले धेरै के गर्न सक्थे ? उनले आफ्नो श्रीसम्पत्ति बेचेर पनि पुरा हुने आयोजना थिएन ।

स्रोतले साथ दिउञ्जेलसम्म धर्मुसले दिनरात नभनि मरिमेटेर काम गरेकै हुन् । कोभिड उत्कर्षमा रहेका बेला आफू र पत्नी दुवैलाई एकसाथ भएको संक्रमण अनि गम्भीर बिमारी अवस्थालाई गोप्य राखेर पनि उनले कामलाई निरन्तरता दिएका थिए । चाडवाडमा पनि जहान-परिवारलाई बिर्सेर निर्माणस्थलमै कामदारसँग रमाए । चौबिसै घन्टा निर्माणस्थलमा खटिए ।

धुर्मुसले स्रोत व्यवस्थापनको लागि पनि आफ्नो बर्कतले भ्याएसम्म प्रयास गरेका हुन् । देश दौडाहा गर्दै जनताको घर–घर पुगेर हात पसारेनन् कि ? नेता-मन्त्रीको दैलो चहार्दै याचना गरेनन् कि ? रंगशालाका कुर्सीदेखि कक्षहरु प्रायोजन गर्ने जुक्ती लगाएनन् कि ? केही गर्दा पनि नलागेपछि अन्ततः निर्माण रोक्नुको विकल्प उनीसँग रहेन । जब निर्माण रोकियो, अनि सुरु भयो अबगाल ।

बलेको आगो ताप्ने र ओरालो लागेकालाई लखेट्ने नेपालीको राष्ट्रिय चरित्र हो । त्यसमाथि हामीसँग यस्तो सामाजिक सञ्जाल छ, जसले जो कसैलाई रातारात हिरोबाट भिलेन बनाइदिन सक्छ । हिजो धुर्मुसलाई काँधमा बोक्ने प्रतिस्पर्धा थियो । काँध–काँधमा चढाएर धरहराको उचाईंमा पुर्याइयो । अहिले क्रमशः सबैले काँध छोड्दै भुईंमा पछारिने अवस्था आएको छ । हिजोको ताली आज गालीमा परिणत भएको छ ।

अहिले आर्थिक अनियमितताका आरोपसमेत लगाउन थालिएका छन् । तर, कुनै आधारबिनै । रंगशालाको आम्दानी–खर्चको विवरण धुर्मुस सुन्तली फाउन्डेसनले सार्वजनिक गर्नै बाँकी छ । रंगशालाको स्वामित्व महानगरलाई हस्तान्तरण गरेपछि हरहिसाब सार्वजनिक गर्ने फाउन्डेसनले बताइरहेको छ । सबै विवरण आइसकेपछि त्यसमा खोट देखियो भने प्रश्न गर्दा भयो । अहिले अनुमानका भरमा, आशंकाका भरमा एउटा राष्ट्रसेवीमाथि हिलो छ्याप्ने काम भइरहेको छ । देश किन बनेन भनेर चिन्ता लिइबस्ने, तर बनाउन अघि सर्नेहरुको खुट्टा तान्न खोज्ने भेडो समाज हौं हामी । हामी तीन करोड नेपालीहरु, तीन करोड भेडा हौं । यो प्रवृत्तिबाट मुक्त नभएसम्म देश बन्दैन ।

धुर्मुस समाजका एक आदर्श बिम्ब हुन् । यस्ता बिम्बहरुलाई निभ्न दिनु हुँदैन । एउटा धुर्मुस निराश हुनु भनेको उनलाई प्रेरणा मान्ने लाखौं नागरिक निरुत्साहित हुनु हो । अहिलेको चुनौति धुर्मुसका लागि एउटा अग्निपरिक्षासरह छ । उनी सहजै डग्मगाउने मनुवा होइनन् । तर, उनको पनि फलामको मुटु अवश्य छैन । टुट्न सक्छन् । उनी टुट्नु, विरक्तिनु भनेको एउटा राष्ट्रसेवी देशका लागि क्षति हो । यो क्षति जसरी पनि रोकौं । @नेपलाप्रेस

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !