मन्त्री झाँक्रीलाई ‘भाउजु’ भन्दै मन्त्रालय चलाउने को हुन यी शक्तिशाली सुब्बासाप !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । देशका विभागीय मन्त्रालय कसले चलाउला ? उत्तर सामान्य छ मन्त्री । तर केही यस्ता मन्त्रालयहरू पनि छन् त्यहाँ मन्त्रीभन्दा बढी विचौलिया, कर्मचारी र कमिसनखोरहरूको रजगज चल्छ ।

सिंहदरबारभित्रै रहेको शहरी विकास मन्त्रालयको जिम्मेवारी अहिले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुकमारी झाँक्रीले पाउनुभएको छ । झाँक्री मन्त्री भए पनि मन्त्रालयमा हामीमुहाली भने अर्कैको चल्छ । मन्त्रालयकै एक सुब्बाले मन्त्रालयमा राज गरिरहेका छन् ।

धनकुटा घर भएका सुब्बा युवराज गिरी लामो समयदेखि मन्त्रालयमा स्टोर प्रमुखको जिम्मेवारीमा छन् । तर उनी स्टोर र स्टोरको काममा होइन, जतिबेलै मन्त्रीकै अघिपछि भेटिन्छन् ।

मन्त्रीको दैनिक कार्यतालिकाको विषयमा सचिव, सहसचिव र सचिवालयका कर्मचारी भन्दा बढी उनी जानकार हुन्छन् । अझ भन्दा, मन्त्रीको सबै कार्यक्रम उनैले तय गर्छन्, आफूलाई राज्यमन्त्री सरह सोचेर व्यवहार गर्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

झाँक्री मन्त्री भएको बेलामा मात्रै होइन, उनको रवाफ अरु मन्त्री हुँदा पनि उत्तिकै थियो । तर, मन्त्रालयमै पूरै हालीमुहाली गर्न भने पाएन थिएनन् । यसपटक मन्त्रीको आगमनसँगै उनलाई यत्ति सजिलो भयो कि उनी सचिवालयका कर्मचारी, सचिव, सहसचिव सबैभन्दा माथिल्लो तहमा पुगेर काम गर्न थाले ।

अरु पार्टीका मन्त्री हुँदा पनि सुब्बासापको रवाफमा भने कमी नभएको यसअघिका मन्त्री र उनका सचिवालयका कर्मचारीहरूको अनुभव छ ।

‘उहाँको रवाफ नै ठूलो हुन्थ्यो, कुन्नी के छ त्यस्तो,’ यसअघिका मन्त्रीको सचिवालयमा रहेका भन्छन्, ‘सचिव र सहसचिव भन्दा उहाँको रजगज बढी थियो ।’

मन्त्रालयमा कार्यरत कर्मचारी पनि उनको हर्कतबाट असन्तुष्ट छन् । अधिकृत स्तरका कर्मचारी मात्र होइनन्, सचिव समेत उनको व्यवहारबाट दिक्क छन् ।

‘आफू राम्रो बनेर अरुलाई नराम्रो देखाउने राम्रै कला रैछ उहाँमा’, गिरीबाट दिक्क भएका मन्त्रालयमा कार्यरत एक कर्मचारीले भने, ‘मन्त्रीको भन्दा बढी रवाफ उहाँको हुन्छ, त्यो देख्दा पो अचम्म लाग्छ त !’

गिरी २०७२ सालमा शहरी विकास मन्त्रालयले हतारमा त्रिपाल खरिद गरेर अनियमितता गरेको आरोप लागेको थियो । सोही क्रममा उनी तीन वर्षसम्म निलम्बनमा पनि परेका थिए । यद्यपि उनले उक्त मुद्दामा भने सफाइ पाएका थिए ।

सरकारी गाडी चढ्ने पहिलो सुब्बा !
सामान्यतया सरकारी सेवा रहेका सहसचिव स्तरका कर्मचारीलाई मात्र मन्त्रालयले चारपांग्रे सवारी उपलब्ध गराउँछ । तर, गिरी सायद पहिलो व्यक्ति होलान्, जसले सुब्बाको पदमै सरकारी सवारी चढ्छन्, त्यो पनि ड्राइभर राखेर । ड्राइभर राखेर सिंहदरबार छिर्ने उनी नै पहिलो सुब्बा हुनुपर्छ । गिरीले सरकारी सम्पत्तिको चरम दुरूपयोग गर्दै सिंहदरबारमै बसेर ऐन र कानुको खिल्ली उडाइरहेका छन् । तर, त्यत्ति हुँदा पनि उनलाई निलम्बन गर्ने त परै जाओस् स्पष्टीकरण समेत कसैले सोध्न सकेका छैनन् ।

योजनामा हालीमुहाली
शहरी विकास मन्त्रालयमा पर्ने र पार्ने योजनाहरूमा सुब्बा युवराज गिरीकै हालीमुहाली हुने गरेको छ । कस्ता योजना पार्ने, कसको योजनामा लालमोहर लगाउने लगायतका सम्पूर्ण काममा गिरी पोख्त भइसकेका छन् । मन्त्रालयमा आएका फाइल, योजना र सरुवा बढुवामा समेत उनको हात रहने मन्त्रालय स्रोत बताउँछ । त्यसका लागि दर्ता चलानी शाखामा गिरीले आफ्नो नातेदारलाई राखेका छन् । चलाखीपूर्ण ढंगले योजनाहरू आफूलाई फाइदा हुनेगरी वितरण गर्ने गरेको कर्मचारी स्रोत बताउँछ ।

मन्त्रीले पनि हटाउन नसकेका सुब्बासाप
सामान्यतया एक, डेढ वा दुई वर्षमा सरकारी कर्मचारीहरूको सरुवा हुने गर्छ । तर, गिरी भने १० वर्षभन्दा लामो समयदेखि मन्त्रालयको स्टोर प्रमुखको रूपमा कार्यरत छन् । उनलाई यसअघिका मन्त्रीले सरुवा गर्न नखोजेका पनि होइनन् । तर, सुब्बासापको पावरको अगाडि कसैले केही पनि चलेन ।

दर्ताचलानी शाखामा भएका उनका नातेदारका कारणले उनको सरुवाको पत्र प्रशासनसम्म कहिल्यै पनि पुग्न नसकेको स्रोत बताउँछ । ‘उहाँ (युवराज गिरी)लाई सरुवा गर्नका लागि धेरैपटक सरुवाका पत्र आए,’ स्रोतले भन्यो, ‘तर बिडम्बना के भने, त्यो पत्र कहिल्यै पनि प्रशासन पुग्न पाएन, धेरै पत्र त दर्ताबाट च्यातेर फालिए ।’

गिरीको लाइफस्टाइल
सामान्यतया स्टोर शाखा भन्ने बित्तिकै आर्थिक हिसाब एकदमै राम्रो स्थान मानिन्छ । मालअड्डाको नाममा मन्त्रालयको स्टोर शाखालाई पनि समावेश गर्दा फरक नपर्ला । चतुर्‍याईं जानेका गिरीले मालअड्डाका कर्मचारीले भन्दा धेरै आम्दानी गर्छन् । स्टोर प्रमुखको जागिर खाएका गिरीको लाइफस्टाइल आफैंमा लोभलाग्दो छ । गाउँको सामान्य परिवारबाट आएर जागिर सुरु गरेका उनको काठमाडौंमा आफ्नै घर छ ।

२०७८ साउन १ गतेदेखि बढेको तलबअनुसार सुब्बाको तलब ३२ हजार ८ सय १६ रूपैयाँ तोकिएको छ । ३२ हजार तलब खाने सुब्बाले काठमाडौंमा घर बनाएर बस्नु असम्भव रहेको वर्षौंदेखि सरकारी सेवा आबद्ध पूर्वकर्मचारीको भनाइ छ । अतिरिक्त आम्दानी, घुस, कमिसन र भ्रष्टाचारविना यस्ता क्रियाकलाप सम्भव नभएको उनीहरूको निष्कर्ष छ ।

मन्त्री झाक्रीसँगको सम्बन्ध
मन्त्री रामकुमारी झाँक्रीलाई सुब्बा गिरीले भाउजु सम्बोधन गर्छन् । मन्त्री झाँक्रीले पनि सचिव र अन्य कर्मचारीलाई भन्दा उनैलाई बढी महत्त्व दिने गर्नुभएको छ । सचिव र माथिल्लो तहका कर्मचारीको भन्दा सुब्बाको बढी भर गरेपछि उहाँमाथि पनि शंकाका आधारहरू सिर्जना भएका छन् ।

केही दिनअघि मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि मन्त्रीमाथि सचिवालयमा कर्मचारीको भूमिको सन्दर्भमा प्रश्न उठेको थियो । तर, मन्त्री झाँक्रीले उचित जवाफ दिन सक्नुभएन । उहाँले सबैले आ–आफ्नो स्थानमा रहेर काम गरेको दाबी गरे पनि मन्त्रालयमा त्यस्तो अवस्था देखिँदैन ।

यसअघि भएका मन्त्रीहरूलाई पनि गिरीले आफ्नो पक्षमा पार्न नखोजेका होइनन् । केही मानेनन् भने केहीले उनलाई टेरेनन् । तर, अहिले भने उनले मन्त्रालय नै आफूले चलाइरहेका छन् । मन्त्रालयका योजना, नीतिगत निर्णय र सरुवाबढुवा देखि अन्य निर्णयमा पनि उनको प्रत्यक्ष संलग्नता रहने गरेको मन्त्रालय उच्च स्रोत बताउँछ ।

सामान्यतया मन्त्रीले सचिव, उपसचिव र कर्मचारीहरूलाई खटनपटन गर्ने गर्छन् । तर, शहरी विकास मन्त्रालयमा भने मन्त्रीको पूर्ण समर्थन पाएर सुब्बासाप राज गरिरहेका छन् । उनलाई मन नपरेको र आफू अनुकुलका कर्मचारी नआए सरुवा समेत गराउने हैसियत गिरीले राखेको मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

त्यत्तिमात्रै होइन, मन्त्री झाँक्रीलाई सचिवालयमा कर्मचारी हाबी भएको विषयमा पार्टीबाटसमेत प्रश्न तेर्सिएको छ । तर, मन्त्रीले सुब्बासापको संरक्षण गर्न छाडेकी छैनन् । सुब्बासापप्रति मन्त्रीको यति धेरै संरक्षण गर्दै काखी च्याप्नुका पछाडि निहीत स्वार्थ जोडिएको यसै पुष्टि हुन्छ ।

मन्त्रालयका सामान्य सुब्बाको यति धेरै संरक्षण किन भइरहेको छ भन्ने प्रश्नको उत्तर या मन्त्रीज्यूलाई थाहा होला या त सिंगो मन्त्रालय चलाइरहेका सुब्बासापलाई ! @IK

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !