शेरबहादुर देउवाको सम्बोधनमा शंकर पोखरेलले देखाय खोटैखोट

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा गरेको सम्बोधन अप्राकृतिक र सत्तागठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको बताएका छन् ।

उनले सम्बोधनले कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न नसकेको आरोप लगाए । मुलुक चरम आर्थिक, सामाजिक संकटमा फस्दै गएको अवस्थालाई देउवाको सम्बोधनले पूर्णतः उपेक्षा गरेको उनको आरोप छ ।

‘गम्भीर आर्थिक संकटबाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि प्रधानमन्त्री चुक्नु भयो । विगतको सरकारले अघि सारेका कामका परिणामलाई नै आफ्नो सरकारको उपलब्धिका रूपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोसिस गरेको देखियो,’ उनले भने ।

गठबन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलब्धि देखाउन नसकिने उनले बताएका छन् । कोभिडको तेस्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको महासचिव पोखरेलको आरोप छ ।

‘खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको छ । १८ वर्ष मुनिका बालबालिकाको सुरक्षाप्रति सरकार संवेदनशील देखिएन,’ उनले भने ।

लाखौं मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सूचनाका बारेमा प्रधानमन्त्रीबाट मौनता साध्ने काम भएको पोखरेलको आरोप छ । अर्थ मन्त्रालयबाट भएको भनिएको नीतिगत भ्रष्टाचारका बारेमा कुनै चर्चा नगरी त्यसलाई स्विकार्नु देउवाको कमजोरी भएको पोखरेलले बताए ।

‘कूटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशील र गैर जिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका बारेमा सरकार पुरै लाचार देखियो,’ उनी भन्छन् ।

आर्थिक, कूटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पूर्वाग्रहका आधारमा राजदूत फिर्ता गरी प्रमुख विकास साझेदार चीनलगायतका मुलुकमा राजदूत नियुक्त गर्न उदासीन हुनु पनि आपत्तिको विषय भएको उनले बताएका छन् ।

स्थानीय तहको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगको सुझावलाई सम्बोधन गर्नबाटसमेत सरकार पन्छिएको उनले बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !