CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्ता गठबन्धनले जनतालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप लगाएका छन् ।
हिजो आफैंले गरेको हस्ताक्षर ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि कार्यदल बनाउने हास्यास्पद काम गरेको ओलीको भनाइ छ ।
आइतवार विभिन्न विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले एमसीसीबारे गठबन्धनका नेताहरूले द्वैध भूमिका खेलिरहेका आरोप लगाएका हुन् ।
‘अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेका छन् ।
अमेरिकी अधिकारीहरूसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरूले द्वैध भूमिका खेलिरहेका छन् र जनतालाई दिग्भ्रमित पारिरहेका छन्,’ ओलीले भनेका छन्, ‘उनीहरूले हिजो आफैंले हस्ताक्षर गरेको सम्झौता ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाउने जस्ता हास्यास्पद र कच्चा काम गरिरहेका छन् ।’
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।