समयमै चुनाव नगरे देउवाले अर्को असक्षमताको ट्याग भिर्नुपर्ने

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ मा प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जाने घोषणा गरे । यही घटनाले नेपाली काँग्रेस विभाजन भयो ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ असोजमा देउवालाई असक्षम घोषणा गरी सत्ता हातमा लिए । देउवाद्वारा विघटित प्रतिनिधिसभाको पुनःस्थापना पछि मात्र भयो ।

देउवाले चुनाव गर्न सकेनन् । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरे । त्यतिबेला देउवाले गोर्खाली राजाले न्याय गरेको भने ।

तर, पुनः ज्ञानेन्द्रले देउवालाई हटाए । राजाले प्रत्यक्ष शासन गरे । प्रतिनिधि सभा विघटन गरी चुनाव गर्न नसकेको आरोप लागेका देउवालाई उक्त घटनाले लामो समयसम्म राजनीतिक धक्का लाग्यो ।

देउवा जति भाग्यमानी मानिन्छन् उति नै सत्तामा पुग्दा दुर्भाग्यशाली घटना दोहोरिन्छन् । २०७४ सालको चुनाव हुँदा देउवा प्रधानमन्त्री थिए । उनले अन्तिम समयमा प्रचण्डबाट धोका पाए ।

प्रचण्ड केपी शर्मा ओलीसँग मिले । देउवाले चुनावमा धक्का खाए । अहिले देउवा प्रधानमन्त्री हुँदा चुनावलाई पछि धकेल्न खोजिदैछ । २०७९ मंसिरमा प्रतिनिधि सभाको कार्यकाल सकिने भएपनि फागुनमा धकेल्न खोजिदैछ ।

यसका लागि ऐन संशोधनको कुरा हुँदैछ ।  तर, अर्को वर्ष फागुनमा चुनावमा जाँदा प्रतिनिधिसभा विघटन गरेर जाने परिस्थिति बन्न सक्छ । स्थानीय निकाय पनि जनप्रतिनिधिविहिन हुनसक्छ ।

निर्वाचित निकाय विहिन बनाएर देशलाई लान खोज्दा अर्को संकटको खतरा पनि छ ।  देउवा अहिले प्रचण्डको रणनीति अनुसार चुनाव अर्को फागुनसम्म धकेल्न खोज्दैछन् ।

चुनाव जति धकेल्यो उति लामो समय प्रधानमन्त्री बन्न पाइने देउवाको बुझाई हुनसक्छ ।  तर, संविधान अनुसार समयमै चुनाव नगर्दा देउवाले राजनीतिमा अर्को असक्षमताको ट्याग भिर्नुपर्ने परिस्थिति बन्न सक्छ ।

प्रचण्डले यसमा पनि रणनीतिक चार्तुयता देखाइरहेका छन् । शेरबहादुर देउवाको हातबाट ओलीलाई कमजोर बनाई शक्ति सञ्चयमा प्रचण्ड लागेका छन् ।

लामो समय सत्ताबाट टाढा राखेर ओलीलाई कमजोर पार्ने र राजनीतिक शक्ति आर्जन गर्ने उनको रणनीति सफलतातर्फ बढिरहेको देखिन्छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !