CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – नेकपा एमालेका सचिव लेखराज भट्टले नेकपा माओवादी केन्द्र परित्याग गर्नुको खास कारण खुलेको छ । भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा भएको अनियमितता ढाकछोप गर्न एमाले प्रबेश गरेको खुलासा भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरुको फाइल खोलेपछि यस्तो रहस्य खुलेको हो ।
ठूला किमिसका नीतिगत भ्रष्टाचारमा मन्त्रीहरु संलग्न रहेको पाइएपछि अख्तियारले छानबिन सुरु गरेको हो ।
भट्टसँग आयोगले बयान नै लिइसकेको छ । तोकिएको भन्दा धेरै उत्खनन गर्ने नौ वटा चुनढुंगा उद्योगलाई एक अर्ब २६ करोड जरिवाना मिनाहा गरेको अख्तियारको आरोप छ ।
उद्योगीहरुसँग लाभ लिएर भट्टले उठाउनुपर्ने जरिवाना उन्मुक्ति दिइएको थियो । भट्टको निर्देशनमा भएको सवा अर्बको यो भ्रष्टाचार प्रकरणको छानबिन रोक्न अख्तियारमाथि दबाब परिरहेको बताइन्छ ।
यस्तै ठूला भ्रष्टाचार प्रकरणबाट जोगिन पनि भट्ट माओवादी छाडेर एमालेमा आबद्ध भएको स्रोत बताउँछ । उद्योगमा हुँदा उनले गरेका अन्य भ्रष्टाचारका विषयमा पनि अख्तियारमा उजुरी परेको छ ।
ओली सरकार पाँचै बर्ष चल्ने आंकलन गरेका भट्टले तत्कालिन अवस्थामा नेकपा ओली समूह रोजेका थिए । पछि उनी एमाले बने । अहिले त्यही फाइल खुले्पछि उनको छटपटी सुरु भएको छ ।
त्यस्तै, ओली सरकारमा मन्त्री रहेका भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, पद्मा अर्याल, योगेश भट्टराईविरुद्ध पनि अख्तियारमा उजुरी परेपछि छानिबन भइरहेको छ ।
भानुभक्त ढकाल ओम्नी प्रकरणमा मुछिएका थिए । बिना प्रतिस्पर्धा महगो मूल्यमा ओम्नी समूहलाई स्वास्थ्य सामान खरिद गर्दा भ्रष्टाचार भएको ससदीय छानबिन समितिले ठहर गरी कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको थियो ।
त्यस्तै पद्मा अर्यालमाथि पनि उजुरी परेको छ । गिरिबन्धु टि इस्टेटलाई जग्गा सट्टापट्टा गर्न स्वीकृत दिएको विषयमा आयोगमा उजुरी परेको छ ।
कानून नै संशोधन गरेर सहरको हदबन्दीभन्दा धेरै रहेको सहरको जग्गा बिक्री गरी गाउँमा खरिद गर्न स्वीकृत दिएर नीतिगत भ्रष्टाचार भएको थियो । जून पछि अदालतको आदेशपछि रोकिएको छ ।
कृषिमन्त्री हुँदा मल खरिदको भ्रष्टाचारमा पनि उनी मुछिएकी थिइन् । उनकै सेटिङमा कृषि सामाग्री कम्पनी लिमिटेडले कमसल मल खरिद गरेको थियो ।
जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना मात्र मुद्दा दायर गरिसकेको छ । मन्त्रीको त्यसमा लिखित संलग्नता नदेखिएपछि मन्त्री अर्याल जोगिएकी थिइन् ।
तर, जोशी बिज हाउसलाई ठेक्का दिनेगरी काम गर्न उनले नै निर्देशन दिएकी थिइन् । सो मल खरिदमा एक अर्ब ५३ करोड घोटाला भएको थियो ।
ओली सरकारका पर्यटनमन्त्री योगेश भट्टराई पनि अहिले छानबिनमा तानिएका छन् । नारायणहिटी संग्राहलयमा क्याफेका नाममा रेष्टुरेन्ट चलाउन दिने निर्णय उनकै कार्यकालमा भएको थियो ।
हाल पर्यटन मन्त्रालयले आन्तरिक छानबिन गरी अनियमितता भएको निष्कर्षसहित थप कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिसकेको छ ।
त्यस्तै पशुपतिमा धर्मशाला होटल चलाउन दिने तथा लकडाउनको समयमा भएका चार्टर्ड फ्लाइटका नाममा उनको कार्यकालमा भएका अनियमितताको पनि हाल छानबिन भइरहेका छन् ।
गोकुल बाँस्कोटाविरुद्धको छानबिन भने पूरा भएपनि तामेलीमा राख्न लागिएको छ । सेक्युरिटी प्रेस खरिदसम्बन्धी ठेक्कामा कमिसनको मोलतोल गरेको भिडियोका आधारमा उनीमाथि आयोगले छानबिन गरेको थियो ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।