शक्तिशाली भएर उदाए वामदेव गौतम

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समानिर्चावाचन र र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – राष्ट्रिय सभामा स्पष्ट दुई तिहाइ बहुमत पुर्‍याउने पाँचदलीय सत्ता गठबन्धनको प्रयास विफल भएको छ । र अब सत्ता गठबन्धनलाई राष्ट्रिय सभामा दुई तिहाइ दिने नदिने मनोनीत सांसद वामदेव गौतमको हातमा पुगेको छ ।

चारवर्षे कार्यकाल पूरा गरी विदा हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनले सातै प्रदेशमा जित्ने आश राखेको थियो ।

तर, एमालेलाई ‘क्लिनस्वीप’ गर्ने योजना प्रदेश १ बाट राष्ट्रियसभा सदस्यका एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पाले विफल पारिदिए ।

गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का हेमराज राईले ४ हजार ३६८ मत पाउँदा एमाले उम्मेदवार शेर्पा ४ हजार ७५२ मतभार प्राप्त गर्दै विजयी भए ।

१८ पदमा सत्ता गठबन्धनका उम्मेदवार नै विजयी हुँदा पनि सत्ता गठबन्धनलाई राष्ट्रिय सभामा दुई तिहाइ पुर्‍याउन एक जना सांसद अपुग भएको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा हाल एमालेका अध्यक्षसहित २४ सांसद छन् । तीमध्ये बुधबारको निर्वाचनसँगै एमालेको ७ वटा सिट घटेको छ । र अब राष्ट्रिय सभामा एमालेका अध्यक्ष सहित १७ जना सांसद रहनेछन् ।

गौतमले साथ दिए भने राष्ट्रिय सभामा सत्ता गठबन्धनलाई दुई तिहाइ पुग्नेछ । गौतम मनोनीत सांसद भएकाले उनलाई दलीय ह्वीप लाग्दैन । र उनले दल त्याग गरेको कारणले सांसद पद जाँदैन ।

एमाले नेतृत्वकै सरकारको सिफारिशमा मनोनीत भएका दुई सदस्य पनि छन् । वामदेव गौतम र विमला राई पौड्याल । तर, गौतम भने एमालेबाट राजीनामा दिएर बसेका छन् । यसरी राष्ट्रिय सभामा एमालेको पक्षमा खुल्ने प्रष्ट सांसदको संख्या १८ मा सीमित भएको छ ।

एमालेसँग गठबन्धन गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि राष्ट्रिय सभा सदस्य छन् । यसरी पाँचदलीय गठबन्धन बाहिरबाट राष्ट्रिय सभामा १९ सांसद छन् ।

बाँकी ४० मध्ये ३९ सांसद पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट हुनेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दुई तिहाइ पुग्न ३९.३२ प्रतिशत अर्थात् ४० संख्या आवश्यक पर्छ । जुन पाँचदलीय गठबन्धनले पुर्‍याउन सकेन । बाँकी रहेका मनोनीत सांसद वामदेव गौतम कतै खुलेका छैनन् ।

एमाले नेता ईश्वरी रिजालका अनुसार गौतमले दिएको राजीनामा स्वीकृत भएको छैन । तथापि, गौतमले आफू एमालेमा नरहेको बताउँदै आएका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा ७ वटै प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र राष्ट्रपतिबाट तीन सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ। मनोनीत सांसद रामनारायण बिडारी पनि यही फागुन २० गतेबाट बिदा हुँदैछन् ।

उनी नेकपा माओवादी केन्द्र समर्थित हुन् । माओवादी केन्द्र सत्ता गठबन्धनको एक घटक भएकाले उनको ठाउँमा गठबन्धनकै तर्फबाट अर्को पात्र सरकारको सिफारिशमा आउनेछन् ।

यो अवस्थामा गौतमले साथ दिए भने राष्ट्रिय सभामा सत्ता गठबन्धनलाई दुई तिहाइ पुग्नेछ । गौतम मनोनीत सांसद भएकाले उनलाई दलीय ह्वीप लाग्दैन । र उनले दल त्याग गरेको कारणले सांसद पद जाँदैन ।

मनोनीत सांसदलाई सरकारले फिर्ता बोलाउने व्यवस्था पनि छैन । यस्तोमा गौतमको विश्वास जितेर राष्ट्रिय सभामा दुई तिहाइ पुर्‍याउने कसरत गठबन्धनले गर्न सक्छ । त्यस्तोमा गौतमले के निर्णय गर्छन् त्यसकै आधारमा राष्ट्रिय सभाबाट दुई तिहाइ बहुमतले गर्ने निर्णय अनुमोदन हुने वा नहुने निर्क्योल हुन्छ ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुने भए पनि गोलाप्रथाबाट पहिलो पटकका लागि २, ४ र ६ वर्ष निर्धारण गरिएको थियो । सोही अन्तर्गत चारवर्षे कार्यकाल पूरा गरेर १९ जना बिदाइ हुने भएपछि खाली सिटका लागि बुधबार निर्वाचन भएको हो ।

जसबाट कांग्रेसका ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ५–५, जनता समाजवादी पार्टीको एक र राष्ट्रिय जनमोर्चाका एक जना निर्वाचित भए । त्यस्तै नेकपा एमालेका पनि एक जना निर्वाचित भएका छन् ।

चुनावी परिणामसँगै माओवादी केन्द्रले एक सिट बढाएर १५, नेपाली कांग्रेसले तीन सिट बढाएर १०, एकीकृत समाजवादीले एक सिट बढाएर ८, जनता समाजवादी पार्टी (जसपा)ले १ सिट बढाएर ३ पुर्‍याएको छ ।

राष्ट्रिय सभामा एक सिट सहित राष्ट्रिय जनमोर्चाको पनि इन्ट्री भएको छ । हाल राष्ट्रिय सभामा रहेका स्वतन्त्र सांसद खिमलाल देवकोटा नेकपा (एकीकृत समाजवादी) समर्थित हुन् ।

७ सिट गुमाउँदा पनि राष्ट्रिय सभामा एमाले सबैभन्दा ठूलो दलकै रुपमा कायम छ । मनोनीतसहित एमालेसँग अध्यक्षसहित १८ सांसद छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !