फेरी असक्षम बने देउवा, यस्तो छ कारण !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – एमसिसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिए पनि गठबन्धनमा आबद्ध दलहरुको असहयोगका कारण तत्कालका लागि असफल भएका छन्।

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एसिसी अनुमोदनका लागि पेश गर्ने प्रधानमन्त्री देउवाको प्रस्तावलाई गठबन्धनमा आबद्ध मााओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार गरेपछि तत्कालका लागि असफल भएका हुन्।

शनिबार बेलुका बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी पारित गराउन अमेरिकाले मंगलबार (फेब्रुअरी १) सम्मको समय दिएकाले पारित गराउनै पर्ने दबाबमा आफू रहेको बताएका थिए।

देउवाले समाजवादी र माओवादीलाई एमसिसीकै कारण गठबन्धन तोडे पनि आफू आइतबारकै प्रतिनिधिसभाको बैठकमा अनुमोदनका लागि पेश गर्ने चेतावनी दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘मलाई एमसिसी पारित गराउन दबाब छ। म भोलि संसदमा लैजान्छु, पारित गरौँ। तपाईहरुले भोट दिए पनि दिनुहोस्, नदिए पनि नदिनुहोस्।’

प्रधानमन्त्रीको चेतावनीयुक्त प्रस्तावको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेका थिए। उनले यथास्थितिमा एमसिसी अनुमोदन गर्न नसकिने बताउँदै आफ्नो पार्टीका लागि सरकारमै बसेर सरकारको प्रस्तावको विपक्षमा मतदान गर्नु अनैतिक हुने उल्लेख गरे।

गठबन्धनको बैठकमा श्रेष्ठले भने, ‘यथास्थितिमा एमसिसी अनुमोदन गर्न सकिँदैन। यसमा राष्ट्रहित विपरीतका धेरै विषय छ। यस्तो अवस्थामा तपाईंले संसदमा लैजानु भयो भने हामी भोट हाल्दैनौँ, सरकारमै बसेर विपक्षीमा मतदान गर्नु अनैतिक हुन्छ।’

बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि पनि प्रधानमन्त्रीको प्रस्तावमा असहमति जनाएका थिए। एमसिसीको विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच नै चर्काचर्की भए पनि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिभसाको बैठक १० दिन पर सारिएको छ।

बैठक सार्दा फेब्रुअरी १ को डेटलाइन कट्ने र यो अवधिमा कुनै मध्यमार्गी उपायको खोजी गर्ने उद्देश्यले दलहरुको सहमतिमै शनिबार रातरात सभामुख अग्नि सापकोटालाई बैठक सार्न लगाएका थिए।

एमसिसी पारित गराउने विषयमा प्रधानमन्त्री देउवाले आइतबार पनि नेताहरुसँग कुराकानी गरेका छन्। उनले टेलिफोनमार्फत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता श्रेष्ठ, समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनालसँग कुराकानी गरेका छन्।

नेता श्रेष्ठले आइतबार पनि प्रधानमन्त्रीसँग एमसिसीका बारेमा कुराकानी भएको स्वीकार गरे। उनले शनिबार साँझ बालुवाटारमा जस्तै अडान देश सञ्चारसँगको कुराकानीमा पनि व्यक्त गरे।

उनले भने, ‘हाम्रो पोजिसन यथास्थितिमा एमसिसी पारित गर्न सकिँदैन भन्ने हो। यसमा राष्ट्रहित विपरीतका धेरै विषय छ। त्यसलाई सच्याउनुपर्छ।’

समितिले काम नै गरेन सत्ता गठबन्धनले एमसिसीबारे अध्ययन गर्न र दलहरुबीच साझा धारणा बनाउन तीन सदस्यीय कार्यदल गठन गरेको थियो। पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा श्रेष्ठ र कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की सम्मेलित अध्ययन समिति बनाए पनि कुनै काम नगरेको हो।

समितिमा रहेका सदस्यहरु आआफ्नो अडानमा अडि रहँदा समितिले कामै नगरेको कांग्रेसका एक नेताले बताए। खनाल र श्रेष्ठ एमसिसीको विपक्षमा छन् भने कांग्रेसका कार्की भने प्रधानमन्त्री देउवा जस्तै तत्कालै पारित गर्नुपर्ने पक्षमा देखिन्छन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !