अमेरिकाले प्रचण्डलाई भन्यो, ‘एमसीसी कसको शक्तिले रोकेको ?’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट पास नभएपछि अमेरिका माओवादी केन्द्रसँग रुष्ट बनेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रोकेको भन्दै अमेरिका रुष्ट बनेको हो ।

संसदमा माओवादी केन्द्रका नेता अग्नी सापकोटा सभामुख हुनुले अमेरिकाको टाउको दुखाईको विषय बनेको छ । अमेरिकाको विदेश मन्त्रालयमा नेपालमा माओवादीले अमेरिकासँग टक्कर लिइरहेको सूचना पुगेको छ । नेपालमा रहेको दूतावास मार्फत यस्तो सूचना अमेरिका पुगेको हो ।

यस्तचो सूचना पुगेपछि त्यहाँका अधिकारीले अनौठो जवाफ दिएका छन् । ‘त्यो प्रचण्ड भन्ने को हो अमेरिकासँग टक्कर लिने’ भन्दै दूतावासलाई प्रचण्डको निग्रानी राख्न निर्देशन दिएको छ ।

प्रचण्डका कारण एमसीसी रोकिएको अमेरिकाको बुझाई छ । पाँचदलीय गठबन्धनमा कांग्रेस एमसीसीको पक्षमा भएपनि नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा संशोधनबिना एमसिसी अगाडि बढाउन नहुने पक्षमा छन् भने जनता समाजवादी पार्टी (जसपा) मौन छ।

देउवाले एमसिसी अगाडि बढाउन गठबन्धनमा कुरा नमिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिनेसम्मको रणनीति बनाएका छन्। प्रधानमन्त्री देउवाले आइतबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पठाएका थिए।

त्यसो त एमसिसीबारे एमालेसँग सहकार्यको हात अघि बढाउने देउवाको यो पहिलो प्रयास होइन। यसअघि पनि मन्त्री कार्कीका साथै देउवा स्वयम् ओलीलाई भेट्न बालकोट पुगेका थिए।

अमेरिकाले फेब्रुअरी १ सम्म एमसिसी अनुमोदन नगरे फिर्ता लैजाने चेतावनी दिएकाले संसदमा पेश गर्नुपर्ने अडान राखेपछि सोमबार मात्र प्रचण्ड माधवले देउवासँग छलफल गरेका थिए।

तर, देउवाको प्रस्तावमा प्रचण्ड माधवले संशोधनबिना अगाडि जानै नसक्ने अडान राखेर कोटेश्वरमा बेग्लै छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले एमसिसी अगाडि बढाउन एमालेको साथ खोज्दै गर्दा प्रचण्ड माधवले बेग्लै वार्ता बस्नुले गठबन्धनमा गडबडी हुनसक्ने नेताहरूले बताउन थालेका छन्।

देउवाले एमसिसी पारित गर्न एमालेको साथ खोजिरहँदा आफ्ना माग पूरा नभएसम्म कुनै एजेण्डामा प्रवेश नै नगर्ने एमाले महासचिव शंकर पोखरेलले बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन। भ्रम नछरौँ।’

त्यसो त एमसिसी संसदबाट पास गर्न खोज्नु सामान्य विषय मात्र नभएको बताउँछन् पूर्वसभामुख समेत रहेका माओवादी नेता कृष्णबहादुर महरा।

उनी भन्छन्, ‘एमसिसी संशोधनबिना अगाडि बढाउन हुँदैन भनेर हाम्रो पार्टीले भन्दै आएको छ। हाम्रो त्यो एजेण्डा परिर्वतन भएको छैन। अध्ययन कार्यदलले पनि सुझाव दिइसक्नु भएको छ। प्रधानमन्त्री पनि अहिले जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ जस्तो लाग्दैन।’

एमसिसी संसदबाट पास गर्न सोचेजस्तो सजिलो नभएको उनको भनाइ छ। अहिले एमसिसीको विषयमा आएको चर्चा गठबन्धन फुटाउने उद्देश्यले स्वार्थी तत्वहरूले खेलेको हुनसक्ने उनको अनुमान छ।

एमसिसीका कारण सत्ता गठबन्धन नै धरमर भइरहेका वेलामा सरकारको स्पष्ट धारणा आएपछि पार्टीले आफ्नो धारणा बनाउने एमाले संसदीय दलको प्रमुख सचेतक विशाल भट्टराई बताउँछन्।

भट्टराई भन्छन्, ‘सरकारले नै एमसिसीबारे स्पष्ट धारणा बनाउन सकेको छैन। संसदमा टेबुल भइसकेपछि हामी धारणा बनाउँछौँ। तर, उहाँहरूसँग अहिले स्पष्ट बहुमत छ। सबै कुरा उहाँहरूकै हातमा छ नि१’

एमसिसी संशोधन गरेर मात्र अगाडि बढाउनुपर्ने भएकाले यथास्थितिमा पारित गर्ने पक्षमा एमाले नरहेको उनको भनाइ छ। त्यसो त सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसीबारे बाहिर चर्चा भएजस्तो गठबन्धनमा कुनै समस्या नभएको बताउँदै आइरहेका छन्।

प्रधानमन्त्री देउवाको पालामा सम्झौता भएकाले संसदबाट अनुमोदन गराउनेबारे गठबन्धनमा छलफल भइरहेको उनको भनाइ छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !