एमसीसी अनुदान भएकाले नाइनास्ती गर्नुहुन्न – डा. सुन्दरमणि दीक्षित

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले आफूलाई खुंखार कम्युनिस्ट देखाउनलाई एमसीसीको विरोध गरिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अगुवा डा. दीक्षितले भने, “हाम्रो मुलुकको ढुकुटी टाट पल्टेको छ । कोभिडको खोप ल्याउन धौधौ परेको छ । अब तीन तहको चुनावमा कति खर्च हुने हो ? यस्तो अवस्थामा चाइनिज वा अमेरिकन ब्लकको कुरा गर्ने नै होइन ।”

डा. दीक्षितले अमेरिकाले दिने भनेको ५ सय मिलियन डलर विशुद्ध अनुदान भएकाले त्यसमा नाइँनास्ति गर्न नहुने औंल्याए । उनले थपे, “यो कुनै ऋण होइन । चीनले बीआरआईका नाममा दिने भनेको चाहिँ बरु ऋण हो । आफूलाई खुंखार कम्युनिस्ट देखाउन चाहनेले यति कुरा बुझ्नुपर्दैन र ?”

चाइनाले उठ् भने उठ्ने, बस् भने बस्ने हाम्रा नेताहरुको कस्तो सार्वभौमसत्ता हो भनेर उनले प्रश्न गरे । उनले थपे, “अहिले चीन सुपर पावर भइसकेको छ । उसको हनुमान बनेको देखाउन यहाँ भ्रम छर्न खोजेका हुन् । एमसीसी आउनेबित्तिकै चीन तर्सिने वाला छैन । उत्तरमा चीन र दक्षिणमा भारत त्यत्रा मुलुक छन् । अमेरिकाले कहाँ कब्जा गर्न सक्छ ? हामी चीनको अन्डरमा हो र उसले भनेको हामीले मान्नुपर्ने ? बेइजिङमा पानी परे यहाँ छाता ओढ्ने ? चाइना वा अमेरिकाले उठ् भन्दा उठ्ने, बस् भन्दा बस्ने हामी कसरी सार्वभौम हुन्छौं र ? हाम्रा नेताले चाइनालाई कति तल गिराएको ? अमेरिकाले अडिटमा अंकुश लगाइदिएकाले एक पैसा खान पाइँदैन । त्यसैले खान पल्केका नेताहरु विरोधमा उत्रिएका छन् । प्रचण्ड र माधव नेपालको कस्तो सिद्धान्त हो ?”

तत्कालीन चिनियाँ नेता माओले भारतसँग राम्रो सम्बन्धमै नेपालको उन्नति भनेको चर्चा गर्दै उनले आर्थिक तवरमा चीन पनि अमेरिकासँग मिलेको तर्क गरे ।

उनले थपे, “चाइनाले एमसीसी लियो भने हामीलाई धक्का पर्छ, कहिल्यै भनेको छैन । फेरि एमसीसी हामीले नै अमेरिकासँग गुहार मागेर ल्याएको हो । युवाहरुलाई बाकसमा नफर्काउने हो भने जुन मुलुकले दिए पनि सहयोग लिनुपर्छ । मुलुकको टाउको उठाउन बिजुली बेच्नैपर्छ ।”

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !